रसुवा — भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र नेपाली सेनाले खोजी कार्य पूरा गरेको छ। सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेको सेनाले जनाएको छ।
सेनाका अनुसार करिब २५० मिटर लामो सुरुङमा उद्धार टोली २२५ मिटरसम्म प्रवेश गरेको थियो। टोलीले ड्रोनसमेत प्रयोग गरी सुरुङभित्र खोजी गरेको थियो। तर, त्यहाँ कोही पनि नभेटिएपछि उद्धार टोली फर्किएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पनि सेनाको नेतृत्वमा खटिएको उद्धार टोली धुन्चे फर्किएको जानकारी दिएको छ।
भोटेकोशी बाढीका कारण रसुवा क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धार कार्य जारी छ।
त्रिशूली–३ ‘बी’ को सुरुङमा विज्ञसहितको टोलीले खोज तथा उद्धार गरिरहेको छ। त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खोल्न गएराति विस्फोटक पदार्थ प्रयोग गरिएको थियो।
त्यस्तै, विदेशी विज्ञसहितको संयुक्त खोज तथा उद्धार टोली चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र करिब १०० मिटर प्रवेश गरी हराइरहेका व्यक्तिको खोजीमा जुटेको छ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा उद्धार टोली करिब ३०० मिटरभित्रसम्म प्रवेश गरेको छ। त्यहाँबाट एउटा शवसमेत सङ्कलन गरिएको सेनाले जनाएको छ।
यस्तै, लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा पनि खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।








