१३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भएका छन् । नेपालको संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनी प्रधानमन्त्री बनेका भएका हुन् ।
बिज्ञापन
शुक्रबार गठित बालेन नेतृत्वको मन्त्रिपरिषद्मा नयाँ र युवा अनुहारको वर्चस्व छ । गृहमन्त्रीमा सुधन गुरुङ, अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्रीमा शिशिर खनाल छन् ।
बिज्ञापन
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा प्रतिभा रावल, पर्यटन तथा नागरिक उड्यनमन्त्रीमा गणेश पौडेल, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रीमा सुनिल लम्साल, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा गीता चौधरी छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सस्मित पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा सीता वादी रहेका छन् । कानुन न्याय तथा संसदीय मामिलामन्त्रीमा सोबिता गौतम, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीमा विराजभक्त श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा विक्रम तिमिल्सिना छन् ।
बिज्ञापन
३६ वर्षीय प्रधानमन्त्री बालेन काठमाडौं महानगरपालिकाका पूर्वमेयर हुन् । २०७९ को चुनावमा स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका बालेनले करिब साढे ३ वर्ष महानगरको नेतृत्व गरे ।
यसपटकको निर्वाचनमा महानगरको नेतृत्व छाडेर झापा ५ बाट रास्वपाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बने । रास्वपाले बालेनलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेको थियो ।
झापा-५ बाटै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार थिए । पूर्वप्रधानमन्त्री ओलीलाई हराएर आएका बालेन प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री बालेन पेशाले स्ट्रक्चरल इन्जिनियर हुन् । र्यापर पनि हुन् ।
१५ सदस्यीय मन्त्रिपरिषद्मा १० जना ४० वर्ष मुनिका
बानेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा ४० वर्ष मुनिका युवाहरूको वर्चस्व छ । १५ सदस्यीय मन्त्रिपरिषद्मा १० जना ४० वर्षमुनिका छन् । प्रधानमन्त्री बालेन्द्र शाह ३६ वर्षका छन् । कानुनमन्त्री सोबिता गौतम ३० वर्षकी छन् । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल ३५ वर्षका हुन् भने शिक्षामन्त्री सम्मित पोखरेल २९ वर्षका भए ।
स्वास्थ्यमन्त्री निशा मेहता ३८ वर्ष भइन् भने श्रममन्त्री दिपक शाह ३४ वर्षका छन् । समान्य प्रशासनमन्त्री प्रतिभा रावल ३२, गृहमन्त्री सुधन गुरुङ ३८, महिला मन्त्री सिता वादी ३० र कृषिमन्त्री गीता चौधी ३२ वर्षकी छन् ।
मन्त्रिपरिषद्मा सबैभन्दा पाका स्वर्णिम वाग्ले हुन् । उनी ५१वर्षका भए । परराष्ट्रमन्त्री शिशिर खनाल ४७, उर्जामन्त्री विराजभक्त श्रेष्ठ ४४, पर्यटनमन्त्री खड्कराज पौडेल र सञ्चारमन्त्री विक्रम तिमिल्सिना ४३ वर्षका छन् ।
क्षमता अनुसारको जिम्मेवारी
अर्थमन्त्री स्वर्णिम वाग्ले अर्थविद् हुन् । रास्वपाको अर्थ नीति विभाग प्रमुख समेत रहेका ५१ वर्षीय वाग्लेलाई रास्वपाले चुनावी वाचापत्र लेख्नका लागि संयोजक नै बनाएको थियो । आफैँले लेखेको वाचापत्र कार्यान्वयन गर्ने जिम्मेवारीसहित उनी अर्थमन्त्री बनेका छन् ।
वाग्लेले लन्डन स्कुल अफ इकोनमिक्स, हावर्ड विश्वविद्यालय र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट उच्च शिक्षा प्राप्त गरेका हुन् । २०७१ सालमा नेपाल फर्केका उनी राष्ट्रिय योजना आयोगका सदस्य बने ।
दुई कार्यकाल सदस्य र एक कार्यकाल उपाध्यक्ष भई काम गरे । एसिया प्रशान्तका विभिन्न देशहरूको आर्थिक नीति निर्माणमा समेत योगदान पुर्याएको वाग्ले यूनडीपी एसिया–प्रशान्तका प्रमुख आर्थिक सल्लाहकारका रूपमा समेत काम गरेका व्यक्ति हुन् ।
वाग्ले विघटित प्रतिनिधिसभामा पनि थिए । २०७९ को चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको क्षेत्रमा उपनिर्वाचन भएको थियो । त्यसबेला कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई हराएर वाग्ले सांसद बनेका थिए ।
दोस्रोपटक तनहुँ–१ बाटै उम्मेदवार भएका वाग्लेले चुनाव जिते । नेपाली उन्नतिको मार्गचित्र मतदाता सामु प्रस्तुत गर्दै भोट मागेका वाग्लेलाई रास्वपाले अर्थमन्त्रालयको बागडोर सुम्पेको हो ।
गृहमन्त्री सुधन गुरुङ ३८ वर्षका भए । उनी जेनजी आन्दोलनपश्चात् चर्चामा आएका व्यक्ति हुन् । समाज सेवामा भने उनी एक दशक देखि नै सक्रिय थिए । २०७२ सालको भूकम्पपछि ‘हामी नेपाल’ नामक संस्था खोलेर उनी राहत तथा उद्दारमा खटिएका थिए ।
सामाजिक कार्यमा व्यस्त रहँदै आएका उनलाई धेरैले चिन्दैनथे । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि उनी चर्चामा आए । २१ फागुनको निर्वाचनमा गोरखा १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार भए र चुनाव जिते ।
उनै सुधन निर्वाचनपछिको नयाँ सरकारमा गृहमन्त्री बनेका हुन् ।
परराष्ट्रमन्त्री : शिशिर खनाल
परराष्ट्रमन्त्रीमा शिशिर खनाल छन् । ४७ वर्षीय खनालसँग प्रतिनिधिसभा सदस्यको अघिल्लो कार्यकालमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रीको जिम्मेवारीमा रहेर काम गरेको अनुभव छ ।
२०७९ र २०८२ दुवैमा काठमाडौं क्षेत्र नम्बर ६ बाट चुनाव जितेका शिशिरको स्थायी ठेगाना काठमाडौं टोखा हो । राजनीतिमा आउनुअघि उनी सामाजिक सेवा, शिक्षा र नीति निर्माणका क्षेत्रमा थिए ।
सन् २००५ देखि २०१२ सम्म श्रीलंका, नेपाल र अमेरिकामा सञ्चालन भएको सर्वोदय श्रमदान अभियानमार्फत उनले सामुदायिक विकास र स्वयंसेवी अभियानमा काम गरे ।






