लुङग्री अन्लाइन, ०८ भदौ, रोल्पा । लुङ्ग्री गाउँपालिका–४ र ५ मा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण सुरु गरिएको छ।
इलाका प्रहरी कार्यालय सुलिचौरका अनुसार प्रभावित परिवारलाई राहत उपलब्ध गराउन नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौंको समन्वयमा प्रहरी निरीक्षक बच्चुलाल फुयालको कमान्डमा २३ जनाको टोली राहत सामग्रीसहित रोल्पा पुगेको हो।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीको प्रमुख आतिथ्य तथा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमान्डमा ४२ जनाको टोलीको उपस्थितिमा राहत वितरण सुरु गरिएको प्रहरीले जनाएको छ।

राहत वितरण कार्यक्रममा करिब ३५० जनाको सहभागिता रहेको थियो। बाढीपहिरोबाट प्रभावित परिवारलाई आवश्यक राहत सामग्री उपलब्ध गराउँदै विपद्का कारण समस्यामा परेका नागरिकलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले राहत वितरण सुरु गरिएको हो।
यसअघि निरन्तर वर्षाका कारण रोल्पाका विभिन्न क्षेत्रमा बाढी तथा पहिरो जाँदा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। प्रभावित परिवारलाई राहत उपलब्ध गराउने तथा विपद्पछिको उद्धार र सहयोगलाई प्रभावकारी बनाउने कार्यलाई प्रशासनले प्राथमिकतामा राखेको जनाएको छ।









