धादिङ — भोटेकोशी हुँदै आज बिहान आएको बाढीले धादिङमा चार वटा घर तथा गोरखाको घ्याल्चोक र धादिङको चरौँदी जोड्ने झोलुङ्गे पुल बगाएको छ।
धादिङको गल्छी गाउँपालिका–४ चिरौँदीमा त्रिशूली नदीमा आएको बाढीले चार वटा घर बगाएको हो। बिहान नदीमा पानीको बहाव एक्कासि बढेपछि नदीले कटान गर्दा थप ४/५ वटा घर जोखिममा परेका छन्।
बाढीका कारण गोरखाको घ्याल्चोक र धादिङको चरौँदी जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलसमेत बगाएको छ। पुल बगाएपछि स्थानीयको आवतजावत प्रभावित भएको छ।
बाढी पूर्वानुमान महाशाखाले बिहान भोटेकोशी नदीमा पानीको बहाव बढेको जानकारी दिँदै रसुवा, नुवाकोट र धादिङसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको थियो।
भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीमा समेत पानीको बहाव बढेपछि नदी आसपासका क्षेत्रमा थप क्षतिको जोखिम बढेको छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।








